आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारमा लोकतान्त्रिक समाजबादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महत्तोको नाम पर्साबाट पनि सिफारिस भएको छ ।
पार्टीको मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले वरिष्ठ नेता महतोलाई पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदको उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
महतोको नाम यसअघि धनुषा ३ बाट संघीय सांसदको उम्मेदवारमा सिफारिस भईसकेको छ । २०७४ को निर्वाचनमा महतो धनुषा ३ बाटै संघीय सांसदमा निर्वाचित भएका थिए ।
पर्सा ३ मा आगामी निर्वाचनका लागि संघीय सांसदको उम्मेद्वारमा नेपाली काँग्रेसले सुरेन्द्र प्रसाद चौधरी, नेकपा एमालेले राजकुमार गुप्ता र जनता समाजवादी पार्टीले निलम्बित सांसद हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्ताको नाम सिफारिस गरेको छ ।
उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियार निर्वाचित भएका थिए । अख्तियारले विशेष अदालतमा रौनियार विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि भने उनी निलम्बित छन् ।
यस्तै प्रदेशसभा तर्फ ३ (क) मा शिवपुजन साह तथा ३ (ख)मा मालती कुमारी कुशवाहा र निजामुद्दीन सम्मानीको नाम सिफारिस गरेको छ ।