वीरगञ्जकी सहकारीकर्मी शमी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएकी छिन् ।
वीरगञ्जको लिंकरोडमा सञ्चालित सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अग्रवाल नेपाल सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने उक्त पदकबाट विभुषित भएकी हुन् ।
अग्रवाललाई सामाजिक कार्यमा पुर्याएको योगदानको कदर गर्दै यो पदकबाट विभुषित गरिएको हो ।
रौतहटको गौर नगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा बसोबास गर्ने अग्रवाल महिला उद्यमीसँगै समाजसेवीका रुपमा स्थापित छिन् ।
सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएसँगै यसले अँझै समाजप्रतिको जिम्मेवारी बढेको अनुभुती भएको अग्रवालले बताइन् । निःस्वार्थ रुपमा समाजसेवा गर्दा त्यसको मूल्यांकन एवं कदर हुने रहेछ भन्ने कुरा आफूले प्राप्त गरेको विभुषणले पुष्टि गरेको पनि उनले बताइन् ।
विभुषणले जिम्मेवारीसँगै सामाजिक कार्यमा अझै सक्रिय भएर लाग्न प्रेरणा प्रदान गरेको अग्रवालको बुझाई छ । आउँदा दिनमा सहकारीको काम सँगसँगै सामाजिक कार्यमा सक्रिय भएर लाग्ने उनले बताइन् । संविधान दिवसका अवसर पारेर सोमबार घोषणा भएको पदक बैशाख १ गते नयाँ वर्षका दिन राष्ट्रपति विद्या देवी भण्डारीले प्रदान गर्नुहुनेछ ।