सातौँ संविधान दिवस नेपाली कांग्रेस पर्साले सोमबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।
संविधान दिवसको खुसीयालीमा कांग्रेस पर्साले वीरगञ्जको माइस्थान अगाडिको पार्कमा दीप प्रज्वलन गरेको छ ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले लामो संघर्षबाट प्राप्त संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताए । संविधानकै कारण राज्यको हरेक निकायमा सबै जातजातिको समावेशी पहुच र प्रतिनिधित्व हुन सकेको भन्दै उनले संविधानकै कारण संघियता लागू भइ देशमा तीन तहको सरकार चलिरहेको र यसले जनतालाइ अधिकार सम्पन्न बनाएको पनि बताए । अझै पनि संविधान विरोधी तत्वहरुको चलखेल जारी रहेकाले त्यसलाई निमिट्यान्न गर्न सबै एक हुनुको अपरिहार्यता रहेको उनको जोड थियो ।
कार्यक्रममा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले अहिले पनि संविधान माथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गरि संविधान र लोकतन्त्रलाई जोगाउने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । कुर्मीले दुवै सदनबाट पारित नागरिकता विधेयक संविधान अनुसार कुनै विलम्ब नगरि प्रमाणीकरण गर्न राष्ट्रपतिसंग आग्रह पनि गरे ।
जिल्ला सभापति क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ब जिल्ला उपभापति प्रकाश उपाध्याय, नेताहरु नरेन्द्र साह, ध्रुब नेपाल, हुकुम सिंह, विश्वेसर पटेल लगायतका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।
यस अघि दिउँसो कांग्रेस पर्साले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।