राज्यको शासन प्रणाली परिवर्तन भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको समाजवाद र प्रेस स्वतन्त्रता विषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले पूँजीवादी व्यावस्थाको चंगुलमा फसेको समाजमा प्रेस स्वतन्त्रता झन जटिल र चुनौती बन्दै गएको बताएका छन् ।
कार्यक्रमका एकीकृत समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले अहिलेको व्यावस्थामा सञ्चारगृहहरु नै प्रेस स्वतन्त्रता बञ्चित गराउनेतर्फ उन्मुख रहेको बताउनु भयो । उहाले पत्रकारहरुले लेखेको समाचारहरु सञ्चारगृहहरुले पूँजीपति दलालहरुको प्रभावमा परेर रोक्ने र समाजले पाउने सूचना समेत लुकाउने प्रवृत्ति बढ्दै जाँदा प्रेस स्वतन्त्रताको मुद्दा कमजोर बन्दै गएको बताउनुभयो ।